हेटौडा – आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष मनाउँदै आइरहेको सचेतनामुला तीज विशेष कार्यक्रम यस पटक भर्चुअल माध्यामबाट सञ्चालन गरेको छ । विगत वर्षहरूमाझैँ स्वास्थ्य सम्बन्धि चर्चा परिचर्चा गरी तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ स्वास्थ्यकर्मी डाक्टर अरुणा उप्रेतीको प्रमुख आतिथ्यता तथा हेटौँडा अस्पतालका डाक्टर सुजाता पन्तको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा हालको नेपाली खानपान र त्यसले व्यक्तिको जीवनमा पार्ने असरको विषयमा चर्चा परिचर्चा भएको थियो । व्रत बस्दा हाम्रो स्वास्थलाई फाइदा पुग्ने भएता पनि निरआहार ब्रत बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुने ह्ँदा त्यसप्रति ध्यान दिनुपर्ने कुरा डा. सुजाता पन्तले बताउनु भयो । नेपाली समाजमा परम्परागत रुपमा प्राप्त ज्ञानहरू बढी प्रभावकारी रहेको हुँदा त्यसैको सिको अहिलेको समाजले पनि गर्नु राम्रो भएको बताउँदै हाम्रो भान्सामा प्राप्त हुने खाना नै हाम्रो स्वास्थ्यको लागि प्रभावकारी हुने हुँदा आफ्ना बालबालिकालाई बजारमा पाइने पत्रु खाना ( जङ्क फुड ) खानबाट बचाउनु पर्ने कुरा डा. अरुणा उप्रेतीले बताउनु भयो । साथै कार्यक्रममा बोल्दै विभिन्न सन्दर्भमा मनाइने उत्सवहरूमा केक काट्ने संस्कृतिले हामीलाई फाइदा नपुग्ने तथा केकमा प्रयोग हुने गुलियो पदार्थले मुटुमा प्रत्यक्ष असर पुग्ने हुँदा त्यस्ता संस्कृतिको सिको नगर्न अनुरोध गर्नु भएको थियो । संस्थाकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा सञ्चालित कार्यक्रम नीरा शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो । साथै कार्यक्रममा आँचलले कुशे औशी तथा बुवाको मुख हेर्ने दिन भाद्र २२ गते ‘बा’ सम्बन्धित कविता प्रतियोगिता सञ्चालन गर्न लागेको आँचलकी सचिव भावना सापकोटाले बताउनु भयो ।