मकवानपुरगढी – फुट्सल रनिङशील प्रतियोगिता खेलकुद समिति मकवानपुरगढी–३ को आयोजनामा मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन आइतबार ८ वटा खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा आयोजक वडा नं. ३ ‘ए’ ले देवीडाँडा युवा क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। दोस्रो खेलमा वडा नं. २ खेलकुद विकास समितिले प्रतिभा युवा क्लब ‘बी’ लाई ६–४ गोल अन्तरले हरायो।

त्यसैगरी स्यार्गे गुम्बा र प्रतिभा युवा क्लब ‘ए’ बीच भएको खेलमा प्रतिभा युवा क्लब ‘ए’ ५–१ गोल अन्तरले विजयी बन्यो। अर्को खेलमा कालीखोला स्पोर्ट्स क्लबले वडा नं. ३ ‘बी’ लाई ९–२ गोल अन्तरले पराजित गर्‍यो।

देवीडाँडा युवा क्लबले स्यार्गे गुम्बालाई ३–२ गोल अन्तरले हरायो भने वडा नं. २ खेलकुद विकास समितिले आयोजक वडा नं. ३ ‘बी’ लाई ७–४ गोल अन्तरले पराजित गर्‍यो। कालीखोला स्पोर्ट्स क्लब र प्रतिभा युवा क्लब ‘बी’ बीच भएको खेलमा प्रतिभा युवा क्लब ‘बी’ ७–२ गोल अन्तरले विजयी भयो।
दिनको अन्तिम तथा रोमाञ्चक खेलमा आयोजक वडा नं. ३ ‘ए’ र प्रतिभा युवा क्लब ‘ए’ बीच ४–४ गोलको बराबरी भएको थियो।

आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत आइतबार पहिलो खेलमा वडा नं. २ खेलकुद विकास समिति र कालीखोला स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा स्यार्गे गुम्बा र आयोजक वडा नं. ३ ‘ए’ आमनेसामने हुनेछन्। त्यसपछि प्रतिभा युवा क्लब ‘बी’ र वडा नं. ३ ‘बी’ बीच खेल हुनेछ भने प्रतिभा युवा क्लब ‘ए’ र देवीडाँडा युवा क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ। सेमिफाइनल तथा फाइनल खेलसमेत आइतबार नै सम्पन्न गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान ले गरेका थिए। उद्घाटन समारोहमा वडा नं. ३ का वडाध्यक्ष भागवत घिमिरे को विशेष आतिथ्यता रहेको थियो भने खेलकुद समितिका अध्यक्ष अष्टमान थोकर को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष स्याङतानले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी र प्रोत्साहन गर्ने बताएका छन्। युवालाई खेलकुदतर्फ आकर्षित गर्न तथा प्रतियोगितालाई थप व्यवस्थित बनाउन आगामी दिनमा समेत आवश्यक बजेट विनियोजन गरिने उनले बताए।

प्रतियोगिताको विजेता टोलीले ७५ हजार रुपैयाँ तथा उपविजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले २ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता मकवानपुरगढी ३ स्थित भानु मिनिपिचमा भएको हो ।