गजल मञ्च मकवानपुरको १९ औँ वार्षिकोत्सव तथा २०१ औँ गजल यात्रामा गजलकार अमला अधिकारी एकल गजल वाचन गरिएको छ । सरल र सहज भाषामा ग्रामीण जनजीवन, परिवेश र पछाडि पारिएका वर्गको आवाजलाई बोल्ने गजलकार अधिकारीले वाचन गरेका गजलहरुमाथि समीक्षासमेत गरिएको थियो । कार्यक्रममा वाचित गजलहरुमाथि समीक्षक घनश्याम घिमिरेले विचार, भाव र संरचना पक्षको बारेमा समालोचना गरेका थिए ।
समीक्षक घिमिरेले अमलाका गजलहरुले आवाजबिहीनहरुका आवाजहरु बोलेको बताए । ग्रामीण परिवेश, भोगाई, विपन्न र निमुखाका जीवन भोगाईका विविध पाटाहरुलाई गजलमा सुन्दर तरिकाले प्रस्तुत गरिएको भन्दै घिमिरेले गजलकारको प्रसंशा गरेका थिए । शिक्षण पेशामा आवद्ध सर्लाही स्थायी निवासी अधिकारीका ४ वटा गजल सङ्ग्रह र एउटा उपन्यास प्रकाशित भइसकेको छ । उनको ‘अमला’, ‘आगो’, ‘आरन’ र ‘आश्रम’ गजल सङ्ग्रह हो भने ‘आलय’ उपन्यास कृति हो ।
कार्यक्रमकैबीच गजल मञ्च मकवानपुरले अधिकारीलाई गजल श्रष्टा सम्मानसमेत प्रदान गरेको छ । गजलको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अधिकारीलाई गजल सम्मान २०८० प्रदान गरिएको हो । उक्त सम्मान मञ्चले यसअघि निमेष निखिल, धनराज गिरी, रवि प्राञ्जल, बुँद राना, ज्ञानुवाकर पौडेल, डा। घनश्याम न्यौपाने ‘परिश्रमी’, र श्याम न्यौपानेलाई प्रदान गरिसकेको छ ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।