मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य ढुङ्गेगढीमा स्वच्छ खानेपानीको पहुँच विस्तार भएको छ। नेपाली सेनाले शीघ्र प्रभावी आयोजना अन्तर्गत निर्माण गरेको ढुङ्गेधारा र पाँच हजार लिटर क्षमताको पानी ट्यांकी बुधबार मकवानपुरगढी गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

मकवानपुरगढी गाउँपालिका–२ स्थित ढुङ्गेगढीमा गोरख बहादुर गणले निर्माण सम्पन्न गरेको उक्त संरचना मध्य पृतना मुख्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले गाउँपालिकाका प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, नम्बर ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम गुरुङ, वडा नं. २ का अध्यक्ष बखानसिंह पाख्रिन, गोरख बहादुर गणका गणपति प्रमुख सेनानी रविन्द्रकुमार श्रेष्ठलगायत सुरक्षा निकायका अधिकारी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

नेपाली सेनाका अनुसार नयाँ संरचनाबाट ढुङ्गेगढी पुग्ने पर्यटक, काली मन्दिरका दर्शनार्थी तथा स्थानीय बासिन्दाले स्वच्छ खानेपानी सुविधा प्राप्त गर्नेछन्। यसले पर्यटकको सहजता बढाउनुका साथै क्षेत्रको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय आवश्यकता सम्बोधन गर्दै ऐतिहासिक ढुङ्गेगढी क्षेत्रको पूर्वाधार विकासमा योगदान पुर्‍याएको यो आयोजनाले सेना र नागरिकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।