रिजनलाई माधवराज सुमार्गी उत्कृष्ट युवा पुरस्कार

हेटौँडा, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा गोल्डेन क्याप तथा उत्कृष्ट खेलाडी घोषित भएका हेटौँडाका रिजन ढकाललाई माधवराज सुमार्गी उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको छ । बुधबार हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ढकाललाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोजबाट खेलेका ढकालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गरेका थिए । उनको खेल कौशल र सफलताको सम्मानस्वरूप क्रिकेट एशोसिएसन मकवानपुरका संस्थापक अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कार प्रदान गर्दै सुमार्गीले रिजनको सफलताले हेटौँडाको गौरव बढाएको बताउनुभयो ।
उहाँले शिक्षा र खेलकुद क्षेत्रमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै खेलकुदले विद्यार्थीको प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष अंकिता सुमार्गी, प्रधानाध्यापक दीपेन्द्रकुमार पाठक, रिजनका बुवा राजु ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया