बारा । उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका १२ जना संसदीय टोलीले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइनको अध्ययन अनुगमन गरेको छ ।
राष्ट्रिय गौरवका आयोजना मध्येको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माणको कामको २ दिने अनुगमनका लागि आएका संसदीय टोलीले बिहीबार नेपालमा पर्ने पाइपलाइनको बारेमा अध्ययन गरेको हो ।
टोलीले बिहिवार नेपाल भित्र रहेको ३६.२ किलोमिटर र दोस्रो दिन शुक्रवार भारत तर्फको ३३.७ किलो मिटर क्षेत्रमा निर्माण भइरहेको पाइपलाइनको अवस्थाको अध्ययन अवलोकन गर्ने छ ।
अवलोकनको क्रममा बाराको अम्लेखगञ्जको नेपाल आयल नियममा आएको संसदीय टोलीले दुई दिनको अध्ययन अवलोकन पछि सरकार र आयल निगमलाई पेट्रोलियम पाइपलाइन निर्माण अवस्थाबारे प्रतिवेदन बुझाउने टोलीका संयोजक विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।
२०७५ बैशाख ४ गतेदेखि पाइप गाड्ने काम शुरु गरेको यस योजनाको पाइपलाइन गाड्ने काम सकिएको र अन्य प्राविधिक काम चलिरहेको नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोइतले जानकारी दिनुभएको छ । उहाँले पाइपलाइनको सुरक्षा मुख्य चुनौती विषय रहेको बताउँदै सुरक्षा जिम्मेवारी बारे छलफल भइरहेको र संभवतः नेपाली सेनालाई दिने सम्भावना रहेको बताउनुभयो ।
निर्माणाधिन पेट्रोलियम पाइपलाइनबाट तत्काल डिजेल मात्र ल्याइने र विस्तारै मट्टितेल र पेट्रोलको भण्डारण ट्याङ्क निर्माण भए पश्चात मट्टितेल र पेट्रोलपनि आयात हुने योजना आयल निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




