साहित्यकार आचार्य र तिवारी पुरस्कृत

अनलाइन पत्र संवाददाता२०७६-०५-१५ No Comments

हेटौंडा– मकवानपुरका दुई साहित्यकार शनिबार पुरस्कृत भएका छन् । साहित्य संगम मकवानपुरको २८७ औं नियमित सन्ध्याकाबीच उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।

साहित्यमार्फत समाज परिवर्तनमा महत्वपूर्ण योगदान गरेको भन्दै गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीलाई शुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार प्रदान गरिएको हो । अमेरिकामा रहेका दीपक मुडभरीले आफ्नो बुबाआमाको स्मृतिमा स्थापना गरिएको नगद १० हजार राशीको पुरस्कारसहित तिवारीलाई खादा ओढाएर सममानपत्र प्रदान गरिएको थियो ।

यसैगरी अर्का मकवानपुरे कवि पुरुषोत्तम आचार्यलाई भेषनाथ अधिकारी स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ । नगद १० हजार राशीको उक्त पुरस्कार साहित्यकार विशाल अधिकारी आशुतोषले आफ्नो बुबाको स्मृतिमा गतवर्ष स्थापना गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तुल्सी थापा, संगमका अध्यक्ष निमेष निखिल, स्वर्गीय भेषनाथ अधिकारीकी श्रीमती शुभद्रा अधिकारी, साहित्यकार तुल्सी घिमिरे, देवराज खरेलललगायतले आचार्यलाई खादा तथा माला लगाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

पुरस्कार संस्थापकको तर्फबाट बोल्दै कवि तथा गजलकार विशाल अधिकारीले आफ्नो स्वर्गीय बाबुको स्मृतिमा साहित्य पुरस्कार स्थापना गरी बुबाको उच्च सम्मान र आदार गरेको बताए । आफ्नो बुबाले कयौं छन्दोबद्ध श्लोक सुनाउने र सिकाउने गरेको स्मरण गर्दै अधिकारीले स्वर्गीय बुबाको साहित्यप्रतिको झुकावबारे पनि जानकारी गराए ।

नियमित साहित्य सन्ध्याको क्रममा अनिल कोइराला, भावना सापकोटा र लक्ष्मी कँडेलले रचना बाचन गरेका थिए । संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतमा भएको कार्यक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तुलसी घिमिरे, आरसी रिजाल, देवराज खरेल, सुवास खनाल, मसान उपासक, गणेश पौडेल, विष्णु गौतम, पुरस्कृत हुनेको तर्फबाट देवराज तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Chat Icon
Ad
Ad