हेटौंडा- समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा एकेडेमीले प्रथम स्थान हासिल गरेको छ। वडाभित्रका विभिन्न विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै हेटौंडा एकेडेमीले बाजी मारेको हो।

प्रतियोगितामा त्रिभुवन मावि द्वितीय र जेम्स इंगलिस बोर्डिङ स्कुल तृतीय स्थानमा रहन सफल भएका छन्। वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता तथा समुदाय–प्रहरी साझेदारी व्यवस्थापन समितिका अध्यक्ष देवकुमार श्रेष्ठको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

विद्यालयका प्रधानाध्यापक दीपेन्द्र पाठकका अनुसार प्रतियोगितामा हेटौंडा एकेडेमीको प्रतिनिधित्व गर्दै जोनिश्मा बिडारी, सायन सापकोटा र युग श्रेष्ठले भाग लिएका थिए। विद्यार्थीहरूको यस उत्कृष्ट सफलताप्रति खुसी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले विजयी विद्यार्थीहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिनुभएको छ।