नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ। बुधबार बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएर सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उधृत गर्दै एक नेताले जनाए। पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समितिका अधिकांश सदस्यहरु सहमत देखिएका छन्। ‘माओवादी केन्द्र नाम परिवर्तन गर्ने सहमति स्थायी समिति बैठकले गरिसकेको छ तर अर्को के नाम राख्ने भन्ने छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठलाई उधृत गर्दै ती नेताले भने, ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको छ।’

एक जना युवा नेताका अनुसार सुरुमा केही युवा केन्द्रीय सदस्यहरुले यो पहल थालेका थिए। स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए। अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो।