ललितपुरमा आज बिहानबाट कर्फ्यु लागु भएको छ । आज बिहान ४ बजेबाट राति १० बजेसम्म कर्फ्यु लागु हुने ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख सहितको उपस्थितिमा हिजो भएको बैठकले निर्णय गरेका थियो । स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन कर्फ्यु लागु गरिएको ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले बताएका छन् ।

चक्रपथभित्रका क्षेत्रमा कर्फ्यु लागु भएको छ । उपत्यकामा निषेधाज्ञा जारी भएकै अवस्थामा रातो मच्छिन्द्रनाथको रथ तान्‍ने भनेर निस्किएका पाटनका स्थानीय र प्रहरीबीच बिहीबार करिब ३ घण्टा झडप भएको थियो। झडपका क्रममा प्रदर्शनकारीले एकजना ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरेका थिए । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ कयौँ घाइते भएका थिए ।