Comments Add Comment

वास्तविक शिक्षक कहिल्यै सुत्दैन – हेटाैंडाका बंशगाेपाल मावि प्रधानाध्यापक लामिछाने

अनलाइनपत्र डट कमले यो लकडाउनमा शिक्षक के गर्दैछन् ? भनेर गरेको खोजीमा यसपटक हेटौंडा ६ चौघडाका प्रधानाध्यापक रमेश लामिछाने परेका छन् । त्यसो त उनी मकवानपुर जिल्लाको मात्र नभइ देशकै शिक्षा विष्लेशण गर्ने ब्यक्तित्वभित्र पर्दछन् । विक्रम सम्वत २०१७ सालमा स्थापित बंशगोपाल माध्यामिक विद्यालय स्थापनाको हिसावले जिल्लाको कति औं नम्वरको हो एकिनका साथ भन्न नसकिए पनि लगभग १० औं नम्वर भित्रको हो भन्न सकिन्छ । किनभने पञ्चायतकालमा त्यसबेला एकैपटक जिल्लाका आवश्यक स्थानमा केही विद्यालय वितरण गरिएको थियो । लामिछानेकै शब्दमा संस्था अटल कुरा हो नेतृत्व वा पात्र फेरिन्छन् । म अहिले यहाँ छु पछि कोहि होला तर मूख्य कूरा मैले के गरें भन्ने आत्मसन्तुष्टी र यो मान्छेले यत्ति गर्यो भन्ने जनबोली नै हाम्रो कमाइ हो । मैले वहाँलाइ यो प्रश्न सोध्नुअघि करिव १२/१३ वर्ष पहिले पनि त्यो विद्यालयमा पुगेको थिएँ । पढाइ र गुणस्तरमा विद्यालय अब्बल हुँदा हुँदै पनि भौतिक रुपमा विद्यालय जीर्ण थियो । त्यसपछि म आवद्ध एउटा समाचारपत्रमा समाचार प्रकाशन गरे लगत्तै दातृ निकायको समेत आँखा परेछ । विद्यालयको नयाँ संरचना बन्यो । भौतिक रुपमा सम्पन्न बन्यो । अहिले यो विद्यालय प्राविधिक विद्यालय समेत बनेको छ । सिभिल इन्जिनियरिङ्ग कुनै बखत पहुँचवाला ब्यक्ति र तिनका परिवामा मात्र संभव थियो । तर अहिले यो विद्यालयले त्यो अभाव जिल्लामा मात्रै पूरा गरेको छैन कि बाह्य जिल्लाबाट समेत यसको उपयोग भएको रहेछ । यो सबै देख्दा मन नै आनन्दित भयो । तर यतिबेला विश्व कोरोना भाइरसको संकटमा छ । के साँच्चै गुणस्तरमा र भौतिक रुपमा राम्रा ठानिएका विद्यालयहरु अहिलेपनि उस्तै होलान् त ? मेरो मनमा जिज्ञासा जाग्यो र म फेरि लागेँ बंशगोपाल मावि हेटौंडा ६ चौघडातिर । प्रधानाध्यापक फेरिपनि रमेश लामिछाने नै रहेछन् । उनले दिएको जवाफ सुन्दा वास्तविक शिक्षक साँच्चै कहिल्यै सुत्दोरहेनछ । त्यो जवाफ सम्पादन गर्न पनि मन लागेन । प्रस्तुत छ लकडाउनमा यहाँको विद्यालय के गर्दै छ भनेर मैले साोधेको प्रश्नको जवाफमा उनले दिएको जवाफको संक्षिप्त लिपिवद्द अंश : जस्ताको तस्तै ।

विद्यालयको वार्षिक परीक्षा नजिकिंदै गर्दा चीनको वुहानबाट फैलिएको कोरोना भाईरसले विश्वब्यापी आतङ्क फिंजाई सकेको थियो । २०७६ साल चैत्रको पहिलो हप्ता भित्र विद्यालय तहका वार्षिक परीक्षा सक्न हम्मे परेकै हो । एसईई चैत्र ६ गतेबाट शुरु हुने तालिका र सो को तयारी भै सकेको अवस्थामा चैत्र ५ गते साँझ उक्त परीक्षा नेपाल सरकारले अप्रत्याशित स्थगनको सूचना गर्यो । यसो गर्नु ठीक वा बेठीक भनेर बहस गर्नु महामारीमा उपयूक्त थिएन र गरिएन पनि । चैत्र ११ गतेबाट जेठ मसान्त सम्म ८३ दिन नेपाल सरकारले गरेको लकडाउन अवधिमा हेटौडा उपमहानगरपालिका वडा नं. ६ चौघडा स्थित वंशगोपाल माध्यमिक विद्यालय , प्राविधिक शिक्षालयले गरेका कामहरु धेरै छन् । जसमध्ये केही कार्यहरु म यसरी देखाउन चाहन्छु । प्रधानाध्यापक लामिछानेले आफ्ना कार्यहरुको यसरी बेलीविस्तार लगाए ।

१. चैत्र १९ गतेका लागि तय भएको अभिभावक भेलाको तयारी बिचमै स्थगन गरियो ।
२. वार्षिक परीक्षा सम्पन्न भै सकेकाले उत्तरपुस्तिका परीक्षणको काम भयो ।
३. घरमै बसेर नतिजा तयारी र सावधानीपूर्वक विद्यालयमा नै ग्रेडसिट प्रिन्ट गरियो ।
४. शिक्षकहरु बीचको सम्बाद र प्रविधिको उपयोगबाट अन्तरक्रिया जारी भयो ।
५. नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा कोरोना भाईरस (कोभिड—१९) को प्रकोपको समाप्ती संगै लकडाउन चाँडै अन्त्य भै जनजीवन सामान्य सहित शैक्षिक गतिविधिको निरन्तरताको कामना गर्दै सामाजिक संजालमा शुभकामना साटासाट गरियो ।
६. शिक्षकका पेशागत संस्थाबाट संचालित जुम क्लाउड तथा गुगल मिटिङ्ग, भेला, कम्प्युटर प्रशिक्षण, पावर प्वाईन्ट निर्माण, प्रविधिका शैक्षिक सामग्रीहरुको प्रदर्शन विधिका तालिमहरु सिक्ने काममा सहभागी बन्ने बनाउने काम भयो ।
७ . २०७६ सालको वार्षिक परीक्षाको नतिजा सावधानीपूर्वक पालैपालो विद्यार्थी स्कूलमै बोलाएर सामाजिक भौतिक दूरी कायम गरी ग्रेड सिट प्रदान सहित यसरी प्रकाशित गर्यौं ।
क .नर्सरी देखि कक्षा ३ सम्म मिति २०७७ साल वैशाख २१ गते आईतवार ।
ख. कक्षा ४ र ५ को मिति २०७७ साल वैशाख २२ गते सोमवार ।
ग. कक्षा ६ को मिति २०७७ साल वैशाख २३ गते मंगलवार ।
घ. कक्षा ७ को मिति २०७७ साल वैशाख २४ गते बुधवार ।
ङ. कक्षा ९ को मिति २०७७ साल वैशाख २५ गते विहिवार ।
च. कक्षा ८ को मिति २०७७ साल वैशाख २८ गते आईतवार ।
( हेटौंडा उमनपा शिक्षामहाशाखाको वेभसाईटमा प्रकाशित गरेअनुशार । )
८. नतिजा बुझ्न बाँकिको वितरण प्रक्रियालाई निरन्तरता दिईयो ।
९. मिति २०७७ साल जेठ ५ गते सोमवार अनलाईन स्टाफ मिटिङ्ग उत्साहपूर्वक हार्दिकताकासाथ सम्पन्न भयो ।
१०. प्राविधिक समूहका र कक्षा ११ तथा १२ का विद्यार्थीहरुका परीक्षा एवम् शिक्षण सिकाईका सवालमा सम्बन्धित कार्यालय र विद्यालयका संयोजकहरु संग निरन्तर सम्पर्क शेयरिङ्ग गरियो ।
११. मिति २०७७ साल जेठ ७ गते देखि १३ गते सम्म यस विद्यालयका शिक्षकहरुका लागि नेपाली टाईपिङ्ग, फाईल ब्यवस्थापन, पावर प्वाईन्ट प्रिजेन्टेशन, मोटिभेशन टिप्स, प्रभावकारी शिक्षण विधिको प्रयोग, कम्प्युटर ह्याण्डलिङ् समेतका विषयहरुमा एक हप्ताको जुम क्लाउड प्रशिक्षण सम्पन्न भयो । प्रशिक्षकहरु सरोज लामिछाने, माधव प्रसाद गौतम र गहन खतिवडा सरहरुलाई धेरै धेरै धन्यबाद संगै सिकाईमा अभिरुचीकासाथ सहभागी हुने शिक्षकहरु प्रति आभार ।
१२. २०७७ जेठ ८ गते देखि १५ गते सम्म सावधानीपूर्वक पालैपालो विद्यार्थी स्कूलमै बोलाएर सामाजिक भौतिक दूरी कायम गरी पाठ्यपुस्तक वितरण गरियो ।
१३. वर्गशिक्षकहरु बाट आआफ्ना कक्षाका विद्यार्थीहरु संग फोनबाट, मेसेजगरेर, मेसेन्जरमा र बोलाएर सम्पर्क गरी असारको पहिलो हप्ता सम्मको लागि प्रत्येक विषयको ३/३ पाठहरु होमवर्क दिईयो । समस्यामा सम्पर्क गर्न सम्बन्धित विषय शिक्षकहरुको फोन नम्वर टिपाउने काम भयो ।
१४. मिति २०७७ जेठ ३० गते शुक्रवारका दिन विद्यालयमै विव्यसका अध्यक्ष श्री श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा र वडा अध्यक्ष श्री अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा शिक्षक कर्मचारीको वैठक बसी हालको कोभिड— १९ बाट श्रृजित विषम एवम् असहज परिस्थितिमा संस्थाको शैक्षिक तथा आर्थिक सहित समसामयिक विषयमा ब्यापक छलफल विश्लेषण गरियो ।
१५. मिति २०७७ असार १ गते देखि ५ गते सम्म सेवा क्षेत्रभित्रका प्रत्येक टोलमा २ देखि ३ जना शिक्षकहरुबाट Door visit गरी आफ्ना विद्यार्थीहरुलाई भेटी टिभि / रेडियोको routine दिने, गृहकार्य को कुरा गर्ने, भेटघाटमा बोलाउने र वैकल्पिक शिक्षण सिकाई निर्देशिकाले तोकेका ५ वटा समूहका विद्यार्थीहरुका विवरण संकलन गर्ने काम सम्पन्न भयो ।
१६. मिति २०७७ असार १ गते बाटै कक्षा १० का विद्यार्थीहरुका लागि जुम क्लाउड मिटिङ्ग मा अंग्रेजी भाषा विषयका शिक्षक सरोज लामिछानेले अनलाईन कक्षाको शुरुआत गरी अन्य विषय शिक्षकहरु समेत जोडेर संयोजनको भूमिकामा रहनु भएको छ ।
१७. विद्यालय प्रत्येक दिन बिहान देखि नै खुल्ला रहेको छ । प्रशासनिक कामहरु संचालनमा छन् । नयाँ प्रवेशका लागि आउने विद्यार्थीको निशुल्क आवेदन फर्म भराई दर्ताको काम गरिएको छ । शिक्षकलाई नै नभेटी नहुने समस्याहरुमा सावधानीपूर्वक आएका विद्यार्थीलाई विद्यालयमा नै Personal counseling desk बाट सहयोगको काम निरन्तर जारी छ ।
१८. सिटिईभिटिको सूचना बमोजिम प्राविधिक शिक्षा अन्तर्गतका ३ वर्षे सिभिल तथा जियोमेटिक्स ईन्जिनियरिङ्ग का विद्यार्थीहरुको सैद्धान्तिक विषयहरुको अनलाईन कक्षा संचालनका सम्भावना बुझ्न आवश्यक विवरण लिने काम भैरहेको छ ।

अन्तमा, सरकारको निति निर्देशन र भावना बमोजिम यो शैक्षिक सत्र खेरजान नदिन भए गरेका अभ्यासहरुको अनुशरण गर्दै यस शिक्षण संस्थाले हाल गरिरहेका उल्लेखित कामहरु संगै आगामी दिनमा यो काम गरिदिए हुन्थ्यो भन्ने लागेका कुराहरु सहित शिक्षाका जिम्मेवार कार्यालयहरु, सम्बन्धित स्थानीय तह, अभिभावकवर्ग र तमाम शैक्षिक सरोकारवर्गबाट अनलाईन वा अफलाईन सुझाव सल्लाहको स्वागत एवम् अपेक्षा गर्दछु ।

(स्तम्भकार रमेश प्रसाद लामिछाने बंशगोपाल मावि हेटौंडा ६ का प्रधानाध्यापक हुनुहुन्छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर