Comments Add Comment

आज देशभरको मौसममा सामान्य बदली, धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज (शुक्रबार) पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यतिबेला (शुक्रबार बिहान) देशका अधिकांश तराई क्षेत्रमा आंशिक (घाम बढी देखिएको, बादल कम लागेको) छ भने पहाडी भेगमा सामान्य (धेरै बादलले ढाकेको, घाम कम देखिएको) छ। यतिबेला काठमाडौं उपत्यकामा पनि घाम देखिएको छ।

दिउँसो भने बदली भई देशका केही (पूर्वदेखि पश्चिमसम्म जहाँ पनि) हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। दिउँसो भारी वर्षाको कतै सम्भावना देखिएको छैन।

यस्तै राति पनि मौसम सामान्यतया देशभर बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै महाशाखाले शुक्रबार बिहान ६ बजेदखि शनिबार बिहान ६ बजेसम्म २४ घण्टाका लागि सतर्कता अपनाउन अनुराेध गर्दै चेतावनीसमेत जारी गरेकाे छ। जसमा भनिएकाे छ-  प्रदेश १ तथा गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

महाशाखाले आफ्नो वेबसाइटमा राखेको बिहीबार साँझ ५:४५ बजेसम्मको रेकर्डअनुसार हिजो दिनभर कतै भारी वर्षा भएको छैन। गए रातिको रेकर्ड भने अहिले बिहान ८:४५ मा प्रकाशन गरिने मौसमविद् शाक्यले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर