क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ। शुक्रबार बिहान सकिएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई गुयानले ६ विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने चारै टिमको टुंगो लागेको हो । पराजय भएसँगै बार्बाडोस अन्तिम खेल खेल्नुअघि बाहिरिएको छ। यसअघि जमैका तलावाजविरुद्धको खेल वर्षका कारण रद्द भएपछि सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्स पनि बाहिरिएको थियो।

बार्बाडोस र सेन्ट किट्स बाहिरिएसँगै अंक तालिकाको चौथो स्थानको जमैकाले अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो। जमैकामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन्। उनले ७ खेलमा बलिङ गर्दा १० विकेट लिइसकेका छन्। जमैकासँगै शीर्ष स्थानको ट्रिन्बागो नाइट राइडर्स, दोस्रो स्थानको गुयना र तेस्रो स्थानको सेन्ट लुसिया पनि सेमिफाइनलमा पुगिसकेका छन् ।