Comments Add Comment

आजबाट हेटौंडामा खाना महोत्सव सुरु हुदै , महोत्सव ३ दिनसम्म चल्ने

होटल एशोसियन मकवानपुरको आयोजनामा आजबाट हेटौंडामा खाना महोत्सव सुरु हुँदैछ । अंग्रेजी नयाँ वर्षको अवसरमा पुष ११, १२ र १३ गते हुप्रचौरको उत्तरी गेट बाहिरको सडकमा खाना महोत्सव हुदैछ । यो पटकको खाना महोत्सवमा मौलिक परिकारहरुलाई विशेष प्राथमिकता दिइने होटल एशोसियन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले जानकारी दिए । ‘यो वर्ष हामी अघिल्लो वर्षको भन्दा केही विशेष गरी कार्यक्रम गर्दैछौं,’उनले भने,‘जिल्लाका विभिन्न जातजातिका परिकारहरुलाई विशेष प्राथमिकता दिएका छौं । ढिँडो विशेष परिकारको रुपमा रहनेछ ।’ तीन दिनसम्म चल्ने महोत्सवमा ७५ हजार जनाले अवलोकन एवम् सहभागिता जनाउने उनले बताए ।

‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित हुने महोत्सवमा ४० वटा स्टल रहने आयोजकले जनाएको छ । यो महोत्सवमा छिमेकी जिल्ला सहित भारतबाट पनि पर्यटकहरु आउने एशोसियसनका महासचिव विष्णुगोपाल महर्जनले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना हुने कार्यक्रममा प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको विशेष सहयोग रहने उनले बताए । सांस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रममा मकवानपुर जिल्लाका पर्यटकीय गन्तव्यहरु समेटेर केदारप्रसाद न्यौपानेले लेखेको पुस्तक विमोचन समेत गरिने उनले बताए । कार्यक्रमका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने र करिब २० लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर