उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका जिल्लाकै स्थानीय तह मध्ये आवधिक योजना निर्माणमा अगाडि हुन सफल भएको छ । गाउँपालिकाको पार्श्वचित्र तथा तथ्याङ्कहरुको आधारमा आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमाको लागि ३ दिने कार्यशाला गरि जिल्लामै पहिलो स्थानीय तहको रुपमा योजना बनाउन सफल भएको हो । गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन नेपालको सहजीकरणमा चैत्र १४ गते देखि नगरकोटमा सञ्चालन भएको कार्यशाला १७ गते समापन भएको हो ।

समापन सत्रमा मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष जीवन लामाले इन्द्रसरोवर कछुवाकै गतिमा भएपनी पहिलो हुने लक्ष्य बोकेर अघि बढेको बताए । निर्वाचित भएलगतै आवधिक योजना निर्माणको प्रक्रिया थालेको भए पनि अहिले सम्म बनाउन नसक्नुमा ढिलाई भए पनि जिल्लामै आफ्नो स्थानीय तह पहिलो भएको बताए । मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले चौतर्फी आलोचना र समय अभावका बिच पनि चाडवाड र सार्वजनिक बिदा समेत नभनी गाउँपालिकाको ५ वर्षको खाका कोर्न सम्पुर्ण कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवाला प्रतिबद्ध रहेको प्रती धन्यवाद व्यक्त गरे । गाउँपालिकाको विकासमा अघि बढ्दा बढ्दै पनि आवधिक योजना निर्माण कार्य ढिला भएको स्विकार्दै सम्पुर्ण वडाध्यक्षहरुले बनेका योजना बैंकलाई पुर्णता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गाउँपालिका भित्रका जनप्रतिनिधि, राजनीतिज्ञ दल, विद्यालयका प्र।अ।, पर्यटन, होटल, मत्स्य, डुङ्गा व्यवसायी, संघका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, बाल क्लबका प्रतिनिधि, सञ्चारकर्मी, लगायत गाउँपालिकाको विकाससँग सम्बन्धित सरोकारवाला नागरिक तथा कर्मचारीहरुको सहभागीतामा गाउँपालिकाको ५ वर्षे योजना निर्माण गरिएको हो ।