विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा संचार ९९.६ एफएमले थाहा नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
आज रेडियो परिशरमा आयोजित कार्यक्रममा वक्ताहरुले हिन्दु महिलाहरुको महान पर्व तिज भड्किलो, खर्चिलो र देखावटी हुन नहुनेमा जोड दिएका थिए ।
कार्यक्रममा सम्बोधन गर्नु हुँदै ३ नम्बर प्रदेश सभाकी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मुनु सिग्देलले तिज मौलिक हुनुपर्नेमा जोड दिनु हुँदै तिज संस्कृति मास्ने खालको हुनु नहुने बताउनु भयो ।उहाँले तिजमा पछिल्लो समय मौलिकता हराउँदै गएकोले चिन्ता बढेको समेत बताउनु भयो । उहाँले तिजमा बढी खर्च गरेर प्रतिस्पर्धा गर्ने प्रवृतिलाई त्याग्न आग्रह गर्नुभएको छ । त्यस्तै, कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठले तिजमा सभ्य हुन आग्रह गर्नुभएको छ । उहाँले तिज महिलाहरुको महान पर्व भएकोले त्यसै अनुरुप महिलाहरुको संस्कृतिलाई जगेर्ना गर्न आग्रह गर्नुभयो ।
उहाँले तिजमा निराहार व्रत बस्दा स्वास्थ्यलाई ख्याल गर्न पनि आग्रह गर्नुभएको छ । यसैबीच, कार्यक्रममा थाहा नारी रत्न सम्मान २०७६ बाट विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएका तुलसी मेहर स्कुलका सञ्चालक शिला श्रेष्ठलाई सम्मान गरिएको छ ।
श्रेष्ठलाई दोसल्ला, सम्मान पत्र प्रदान गरिएको हो । रेडियोका सञ्चालक अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, भिमफेदि गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, रेडियोका सञ्चालक अरुणराज सुमार्गी, नर्सिङ संघ मकवानपुरका सचिव निर्मला भ्लोन लगायत जिल्लाका विभिन्न सामाजिक संघसस्थाका प्रतिनीधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।