भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ। गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन्। आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए। आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए ।