पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज हेटौँडा आउने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हुने प्रशिक्षण कार्यक्रमका लागि देउवा हेटौँडा आउने भएका हुन् ।
देउवासंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला लगायतका नेताहरु समेत हेटौँडा आउने भएका छन् । हेटौँडामा दुई दिनसम्म संचालन हुने प्रशिक्षणमा ३ नम्बर प्रदेश अन्तरगतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।
प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका २ सय जना प्रतिनिधिको सहभागिता रहने जनाईएको छ । सहभागीलाई प्रतिष्ठानका प्रमुख नीधि, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा।जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजिकरण गर्ने जनाईएको छ ।