विभिन्न समयमा विभिन्न संघ संस्थालाई आवश्यक सहयोग गर्दै आएका हेटौंडा उपमहानगरपालिका–५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले मनहरी गाउँपालिका–९ रजैयामा रहेको अग्नीहोत्राश्रममा कम्प्युटर सहयोग गरेका छन् ।
बुधबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष बानियाँले अग्नीहोत्राश्रमका प्रमुख संरक्षक डा. सीताराम खनाल र आश्रमका विनोद अर्याललाई एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । आश्रमको गतिविधि एवम् दस्तावेज सुरक्षित राख्नलाई मद्दत पु¥याउने उद्देश्यले कम्प्युटर सहयोग गरिएको वडा अध्यक्ष बानियाँले बताए । ‘एकथान कम्प्युटर आवश्यक देखेर सहयोग गरेको हुँ’, उनले भने, ‘आगामी दिनमा पनि आश्रमको लागि आवश्यक सहयोग हुनेछ ।’ अग्नीहोत्राश्रमका प्रमुख संरक्षक डा. सीताराम खनालले नेपालमा सहयोगी एवम् ईमान्दार मानिस सयजना मात्रै हुने हो भने नेपालको मुहार फेरिने दावी गरे । आश्रम सहयोगी व्यक्ति एवम् संघ संस्थाबाटै सञ्चालन भैरहेको जानकारी दिँदै उनले समाजको सकारात्मक विकासका लागि सकारात्मक सोचाइ एवम् चिन्तन आवश्यक रहेको औंल्याए ।
मनहरी गाउँपालिका–९ स्थित रजैयामा रहेको आश्रम करिब ४ विगाहा क्षेत्रफलमा फैलिएको छ । २०६८ सालमा संस्था दर्ता गरेर बगरमा आश्रम बनाएर बस्न सुरु भएको थियो । अग्नीहोत्राश्रमको गौशाला, शिवालय, सभाहल तथा भोजनालय रहेको छ भने एउटा हल र अतिथि भवन निर्माणको क्रममा रहेको छ । ‘प्रायः संरचना यज्ञ यज्ञाधी गर्न आएकाहरुको दान दक्षिणाबाटै बनेको हो । अहिलेसम्म यहाँ करिब २ करोडको लगानी भैसकेको छ’, अग्नीहोत्राश्रमका सञ्चालक विनोद अर्यालले भने, ‘अब भान्छालाई व्यवस्थित बनाउनुपर्ने छ । यस्तै यहाँ एउटा पुस्तकालय बनाउनुपर्ने आवश्यक छ ।’ आश्रममा ८१ प्रकारको वनस्पति रोपिएको छ । आयुर्वेदिक एवम् प्राकृतिक अस्पताल सञ्चालन गर्ने योजना रहेको बताइएको छ । आश्रमका प्रमुख संरक्षक खनालले अनौपचारिक शिक्षा समेत प्रदान गर्दै आएका छन् । विभिन्न रोगको समस्या झेल्न बाध्य रहेकाहरु रजैयास्थित अग्नीहोत्राश्रममा उपचारको लागि जाने क्रममा समेत बृद्धि भएको छ ।