अनशनरत डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसिरहेका केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो।
चिसोका कारण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलले जानकारी दिए। उनका अनुसार केसीको ब्लडप्रेसर तलमाथि भइरहेको छ।
बुधबार बिहान मात्रै दुई पटक उनको स्वास्थ्य जाँच गरिएको थियो। उनको ब्लडप्रेसर ९०–६० र ६०–४० सम्म पुग्ने बढ्ने भइरहेको छ। ‘हिजोसम्म उहाँको व्लड प्रेसर ठीकठीकै थियो। आज ९०÷६० माझरेको छ।’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलले भने,‘उहाँले आफू कमजोर भएको महसुस गर्नुभएको छ। उहाँमा जागर छैन।’ चिसोले डा. केसीको स्वास्थ्य झन् प्रतिकुल असर पर्नसक्ने पनि उनले जानकारी दिए।