
हेटौँडा । प्रदेश ३ को राजधानी रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७६÷७७ को साउन १ गतेदेखि शुक्रबारसम्म ९० बढी डेंगुका बिरामी फेला परेका छन् ।
बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए । कार्कीले बिरामीको संख्या अझै बढ्न सक्ने बताए । कार्कीले केही बिरामी काठमाडौँमा समेत उपचार गर्न गएको बताएका छन् ।
संक्रमणका कारण अघिल्लो वर्ष २ जनाको मृत्यु भएको थियो । यसवर्ष पनि डेंगु संक्रमण फैलिरहँदा पनि हेटौँडा उपमहानगरपालिकाले सामान्य जनचेतना जगाउने र लामखुट्टेको लार्भा नष्ट गर्ने काम सीमित मात्रामा मात्रै गरेको छ । उपमहानगरपालिकाले माइकिङ गर्ने कामलाई जोड दिएको छ ।
लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोलमा यसबारे जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए । यद्यपि, नागरिक समाजले भने उपमहानगरले पर्याप्त मात्रामा डेंगु नियन्त्रणमा भूमिका नखेलेको टिप्पणी गरेको छ ।
मनसुनअघि र पछि डेंगुको संक्रमणको जोखिम बढी हुने गरे पनि गत आव २०७५/७६ मा यो सिजनमा २० जना र जाडो याममा ४ जना गरी २४ जनामात्र डेंगुबाट संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डेंगु नियन्त्रणका लागि तीव्ररुपमा काम गरिरहेको दाबी गरेका छन् । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेंगु नियन्त्रणका लागि समिति गठन गर्ने निर्णय गरेको समेत उनले बताए । महतले लामखुट्टेको लार्भा र प्यूपा बस्ने बासस्थान नष्ट गरिरहेको बताएका छन् । डेंगु रोग नियन्त्रणका लागि उपमहानगरपालिकाले माइकिङ गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोलमा जनचेतना जगाउने, विद्यालयमा चेतनाको अभियान सञ्चालन गर्नेलगायत काम गरिएको उनले बताएका हुन् ।
यसैबीच, नागरिक समाज मञ्च मकवानपुरले हेटौँडा क्षेत्रमा फैलिएको डेंगु नियन्त्रणमा स्थानीय सरकार तथा सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । संक्रमणले प्रकोपको रुप लिनलाग्दासमेत स्थानीय निकायले चासो कम देखाएको भन्दै मञ्चले जिल्ला समन्वय समिति र तथा हेटौँडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरेको मञ्चकी अध्यक्ष रमिला सापकोटाले बताइन् ।







