नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन्। ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेता झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोशसमेत व्यक्त गरिन्।शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्ने गरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको तर्क गरिन्।

उनले भनिन्, ‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन्। त्यस कारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद। कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन्, मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो। भीम रावलको पोजिशन के थियोरु कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियोरु महाकाली सन्धिका बेला।’नेता झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन्। उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानास बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि पटक–पटक दोहोर्‍याइन्।