काठमाडौं- ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मोत्सव ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा उहाँको जन्म भएको हुनाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र सो रातलाई ‘मोहरात्री’ पनि भनिन्छ।

यस पर्वको अवसरमा देशभरका कृष्णमन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। भक्तजनहरू व्रत बसी भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन र भजनकीर्तन गरी रातभर जाग्राम बस्ने गर्छन्। अन्याय र अत्याचारबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले जीवनभर सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो।

कुरुक्षेत्रको युद्धमा अर्जुनलाई दिनुभएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ लाई हिन्दू धर्मको एक पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा ‘गीता’ नामले चिनिने यो ग्रन्थ विश्वमा सबैभन्दा बढी भाषामा अनुवाद भएको मानिन्छ।

बाल्यकालदेखि नै विभिन्न चमत्कारिक लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दुष्ट प्रवृत्तिहरूको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ।

जन्माष्टमीको अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भव्य मेला लाग्छ। यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाको नवतनधाम र बूढानीलकण्ठमा रहेको इस्कनको कृष्ण मन्दिरमा पनि भक्तजनको ठूलो भीड लाग्ने गर्छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने गर्दछन्।