हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षाको केन्द्र बन्ने दिशामा अघि बढेको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्नका लागि ५० सिटको स्वीकृति दिएको छ। यो निर्णयसँगै हेटौंडाको पहिचान अब स्वास्थ्य शिक्षा क्षेत्रमा पनि स्थापित हुने भएको छ।

प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रमहरू सञ्चालनमा थिए। जसअन्तर्गत यस वर्ष बीएस्सी नर्सिङको सिट संख्या २० बाट बढाएर ३० पुर्‍याइएको छ। त्यसैगरी, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ कार्यक्रम २०-२० सिटमा र ब्याचलर अफ फार्मेसी ३० सिटमै सञ्चालन भइरहेका छन्।

यस वर्ष स्नातकोत्तर तहमा पनि ठूलो उपलब्धि हासिल भएको छ। यस शैक्षिक सत्रदेखि एमडीका सात विषयमा पढाई सुरु हुनेछ, जसमा कुल ८ सिटको स्वीकृति दिइएको छ। तीमध्ये स्त्री तथा प्रसूति विभागमा २ सिट र फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक-एक सिट रहनेछ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले यसलाई प्रदेशका लागि ठूलो अवसरको रूपमा व्याख्या गर्दै भने, ‘मैले मुख्यमन्त्री हुँदा सुरु गरेको यो प्रतिष्ठानले अब स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक जनशक्ति उत्पादन गर्नेछ।’

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पनि प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तार, विशेषज्ञ चिकित्सक उत्पादन, र आधुनिक अनुसन्धानमा निरन्तर काम गरिरहेको बताए। उनले यो कदमले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा र अनुसन्धानको प्रमुख केन्द्र बनाउने विश्वास व्यक्त गरे।

प्रतिष्ठानअन्तर्गत रहेको हेटौंडा अस्पतालमा दैनिक १ हजार ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार, छिमेकी प्रदेशका बिरामीहरू पनि यहाँ उपचारका लागि आउने गरेका छन्। उनले यो प्रतिष्ठानले बागमती प्रदेश मात्र नभई देशभरका नागरिकलाई दीर्घकालीन लाभ पुर्याउने बताए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ सालमा प्रदेश सभाबाट ऐन जारी गरी स्थापना भएको थियो भने २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा अन्य पदाधिकारी नियुक्त भएपछि यसले औपचारिक रूपमा काम थालेको हो।