कृषिमा साढे तीन अर्बको क्षति

अनलाइन पत्र संवाददाता२०७६-०४-१२ No Comments

बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।

दुई साताअघिको बाढी र डुबानका कारण प्रदेश–२ को कृषि क्षेत्रमा मात्र ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यो क्षति कृषि तथा पशुपंक्षीतर्फको मात्र हो भने थप विवरण आउन बाँकी छ । 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार बाढीबाट सबैभन्दा बढी क्षति भएको प्रदेश दुईको कृषि बालीतर्फ मात्र १ अर्ब ९७ करोड ८८ लाख रकम बराबरको क्षति भएको छ । पशुपंक्षीतर्फ महोत्तरीवाहेकका जिल्लामा मात्र १ अर्ब ६२ करोड रकम बराबरको क्षति भएको छ । महोत्तरीको पशुपंक्षीतर्फको क्षतिको विवरण र अन्य क्षेत्रको थप विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

बाढीले कुखुरा, हाँस, बाख्रा, भैंसी, दानासमेत बगाउदा करोडौंको क्षति पुगेको हो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार कुल आठ जिल्लामध्ये पशुपंक्षीतर्फ सबैभन्दा बढी क्षति सिरहा र सप्तरीमा कुल ९७ करोड बराबरको क्षति भएको छ भने रौतहटमा मात्र ३५ करोड बराबरको क्षति भएको छ । धनुषामा १५ करोड, पर्सा र बारामा १० करोड, सर्लाहीमा ५ करोड क्षति भएको छ भने महोत्तरीको तथ्यांक उपलब्ध नभएको मन्त्रालयले जनाएको छ । बाढीले सिरहा र सप्तरीमा २ हजार ८ सय टन तयारी माछा नै बगाएको जनाइएको छ । प्रदेश ६६ हजार कुखुरा, कम्तिमा एक हजार गाई, भैंसी, राँगालगायतका घरपालुवा जनावर र करिव ६ हजारको संख्यामा बाख्रा बाढीले बगाएको छ । 
हालसम्म प्राप्त विवरण अनुसार कृषितर्फ सबैभन्दा बढी क्षति बारामा भएको छ । बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ भने पर्सामा ४४ करोड ८८ लाख रकम बराबरको क्षति भएको छ । त्यसैगरी रौतहटमा ३५ करोड, सप्तरीमा ३० करोड, धनुषामा २० करोड, सर्लाहीमा ८ करोड तथा सिराह र महोत्तरीमा ५-५ करोड बराबरको क्षति भएको छ । बर्सेनि बाढी, पहिरो तथा सुख्खाले कृषि क्षेत्रमा करोडौंको क्षति हुँदै आए पनि सरकारले भने जिल्ला प्रशासन कार्यालयमार्फत् निकै न्यूनमात्र राहत वितरण गर्ने गरेको छ ।-कारोबार

Chat Icon
Ad
Ad