सहिद आकाश मेमोरियल क्याम्पसमा ‘टेकनोभा फेष्ट २०२५’ सम्पन्न

अनलाइन पत्र संवाददाता२०८२-०४-३१ No Comments

हेटौंडा – सहिद आकाश मेमोरियल क्याम्पस (एसएएमसी) ले आज हेटौंडामा ‘टेकनोभा फेष्ट २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको यो कार्यक्रममा प्राविधिक ज्ञानको आदानप्रदान र विद्यार्थीलाई उद्योगसँग जोड्ने प्रयास गरिएको थियो।

फेष्टमा एआई विज्ञ ई. सर्वज्ञ न्यौपानेले ‘एआई इन इन्डस्ट्री’ र साइबर सुरक्षा विज्ञ ई. विजय गौतमले ‘इमर्जिङ ट्रेन्ड्स इन आईटी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले बनाएका विभिन्न डेमोहरू पनि प्रदर्शन गरिएको थियो। यसमा ‘च्याट बट’, ‘फिसिङ अट्याक’, ‘एआई भ्वाइस एक्सप्लानर’, ‘क्यारियर पाथ न्याभिगेटर’ र ‘टेक टर्म एक्सप्लानर’ जस्ता परियोजनाहरू समावेश थिए।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको यो आईटी फेयरमा कक्षा १२ उत्तीर्ण गरेका करिब १०० विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष विद्यार्थीलाई रोजगारीसँग जोड्ने पहल थियो। कार्यक्रममा सुरी टेक्नोलोजी प्रालि, आरएमसी केमिकल इन्डस्ट्री, सफ्टी हाइजेनिक प्रोडक्ट प्रालि, मल्टीपल आईरन प्रालि, स्टील्स एण्ड प्लाष्टिक उद्योग, एकता प्लाष्टिक्स प्रोडक्ट्स प्रालि लगायतका कम्पनीहरूसँग विद्यार्थीको इन्टर्नसिप र रोजगारीका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। यस पहललाई भविष्यमा अझ विस्तार गरिने बताइएको छ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी र क्याम्पस प्रमुख दिनेश सुवेदीले विद्यार्थीको करियर विकासमा केन्द्रित रहेर सम्बोधन गर्नुभएको थियो। एसएएमसी टेक क्लबको आयोजनामा रोयल पार्टी प्यालेसमा भएको यस कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष महेश मोक्तानले गर्नुभएको थियो।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad