2025-10-27 11:47 pm
Ads

हेटौंडामा ‘ए’ र ‘बी’ पोजिटिभ रगतको मागमा वृद्धि

हेटौंडा – नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र हेटौंडामा पछिल्लो समय ‘ए’ पोजिटिभ र ‘बी’ पोजिटिभ रगतको माग ह्वात्तै बढेको छ। केन्द्रका प्रमुख टंकप्रसाद दाहालका अनुसार, दैनिक खपत हुने औसत १५ युनिट रगतमध्ये ७० प्रतिशत डायलिसिसका बिरामीलाई आवश्यक पर्छ। बाँकी ३० प्रतिशत रगत शल्यक्रिया र रक्तअल्पताका बिरामीलाई दिइन्छ। हेटौंडा अस्पतालको डायलिसिस केन्द्रमा यी दुई समूहको रगतको आवश्यकता बढ्दो छ।

हाल केन्द्रसँग करिब १२५ युनिट रगतको सञ्चिति भए पनि डेंगुको जोखिम बढेकाले सेतो रगत (प्लेटलेट) को माग पनि बढ्न सक्ने सम्भावना रहेकोले रगतको सञ्चिति बढाउनुपर्ने आवश्यकता रहेको दाहालले बताए।

रक्तदाताहरूको सहयोगमा सेवा दिँदै आएको केन्द्रले हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी, बकैया र बागमती गाउँपालिकाका नागरिकलाई निःशुल्क रगत सेवा उपलब्ध गराउँदै आएको छ। थाहा र इन्द्रसरोवर गाउँपालिकाका बासिन्दाका लागि पनि छिट्टै सेवा निःशुल्क बनाउन पहल भइरहेको दाहालले जानकारी दिए।

केन्द्रलाई स्थानीय सरकार र प्रदेश सरकारबाट पनि सहयोग प्राप्त भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाले १५ लाख, मकवानपुरगढीले ५ लाख, मनहरीले ७ लाख, बागमती प्रदेश सरकारले १० लाखसहित अन्य स्थानीय तहबाट पनि आर्थिक सहयोग प्राप्त भएको छ। यसका साथै बागमती प्रदेश सरकारको सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचार गर्न आउने १३ वटै जिल्लाका नागरिकले निःशुल्क रगत सेवा पाउने गरेका छन्।

अमेरिकी रेडक्रसको ४० लाख रुपैयाँ सहयोगमा खरिद गरिएको कम्पोनेन्ट मेसिनबाट केन्द्रले सेवा दिइरहेको छ। दाहालका अनुसार, मकवानपुरका १०७ भन्दा बढी संघसंस्था, सहकारी, क्याम्पस र जेसीज जस्ता संस्थाहरूले वार्षिक रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसबाहेक, रगतको अभाव भएमा केन्द्रले रक्तदातालाई बोलाएर रक्तदान गराउँदै आएको छ। केन्द्रमा २४ सै घण्टा ३ जना प्राविधिक कर्मचारी कार्यरत छन्।

About the Author

Ad
Ad