हेटौंडा – महिला खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित महिला क्रिकेट उत्सवको उपाधि हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी विद्यालयलाई पराजित गर्दै हेटौंडा एकेडेमीले यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा हेटौंडा एकेडेमीले ४ वटा टिमलाई हराउँदै उपाधि चुम्न सफल भएको हो। मकवानपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष तथा महिला क्रिकेट उत्सवका संयोजक प्रेम क्षेत्रीका अनुसार विजयी टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिता मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हेटौंडामा सम्पन्न भएको थियो। महिला क्रिकेट उत्सवमा हेटौंडा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाका १ गरी कुल ८ विद्यालयको सहभागिता रहेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजनाअन्तर्गत आयोजित यस उत्सवमा प्रत्येक खेल ६ ओभरको थियो।

प्रतियोगिताको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै, मकवानपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष ईश्वर मैनाली र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

महिला खेलाडीहरूको उत्साह र प्रतिभा उजागर गर्ने यो प्रतियोगिता मकवानपुरमा महिला क्रिकेटको विकासको एउटा कोसेढुंगा बन्ने विश्वास गरिएको छ।