भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ। उहाँ ९२ वर्षको हुनुहुन्थ्यो। अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो, जहाँ उपचारकै क्रममा उहाँको निधन भएको हो।

अस्पतालका अनुसार उमेरसँग सम्बन्धित समस्याका कारण लामो समयदेखि उहाँ घरमै उपचाररत हुनुहुन्थ्यो। सन् १९३२ मा पञ्जाबमा जन्मिनुभएका सिंहले सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीका रूपमा दुई कार्यकाल पूरा गर्नुभएको थियो।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँ पहिलोपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो। दोस्रो कार्यकाल उहाँले सन् २००९ देखि २०१४ सम्म सम्हाल्नुभएको थियो। उहाँले २०१४ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुभएको थियो।

मनमोहन सिंहलाई भारतको आर्थिक उदारीकरण र सुधारका योजनाकारका रूपमा स्मरण गरिन्छ। भारतीय प्रधानमन्त्री मोदी लगायत सत्तारूढ तथा विपक्षी दलका नेताहरूले उहाँलाई कर्तव्यनिष्ठ र असल नेताका रूपमा सम्झेका छन्।

प्रधानमन्त्री मोदीले सिंहको निधनले आफूलाई दुःखी बनाएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सिंहको नेतृत्वकालमा भारत र नेपालको सम्बन्धमा महत्त्वपूर्ण कदम चालेका घटनाहरू भएका थिए। उहाँकै कार्यकालमा नेपालका प्रमुख दल र तत्कालीन माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो, जसले नेपालको शान्ति प्रक्रिया सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

मनमोहन सिंहको निधनले भारत मात्र होइन, नेपालसहित दक्षिण एशियाली राजनीतिक वृत्तलाई गहिरो क्षति पुऱ्याएको छ ।

स्रोत: विभिन्न सञ्चार माध्यम