वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री माननीय एकालाल श्रेष्ठले जनप्रिय मावि हेटौंडा १६ लाई स्टुडियो मिक्सचर, माईक लगायतका सञ्चार सामग्री आज हस्तान्तरण गर्नुभएको छ । “गल्ली गल्ली” ललितपुर र “मेरो गाउँ- सिकाइ केन्द्रित गाउँ” परियोजनाले जनप्रिय माविमा सञ्चालन गरेको अन्तर्क्रिया कार्यक्रममा वहाले विद्यालयमा नवनिर्मित स्टुडियोका निम्ति सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सामुदायिक विद्यालय अन्तर्गत देशकै पहिलो मिडिया कक्ष र स्टुडियो स्थापना गरी सञ्चालनमा ल्याएको जनप्रिय माविले विद्यार्थीहरुमा प्रविधीमैत्री र जीवनोपयोगी सीप प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । वहाले जनप्रिय नमूना माविले नमूना कार्य गरिरहेको र थप सहयोगको लागि प्रदेश सरकार सकरात्मक रहने समेत जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले जनप्रिय माविका मिडिया संयोजक सुनिल गौतमलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । मोवाईल आर्टस फर पिस र जनप्रिय माविको सहकार्यमा जनप्रियमा स्टुडियो निर्माण गरिएको म्यापका जिल्ला फोकल पर्सन युक्तलाल विश्वकर्माले बताउनुभयो ।
“गल्ली गल्ली” ललितपुर र “मेरो गाउँ- सिकाइ केन्द्रित गाउँ” परियोजनाले सञ्चालन गरेको अन्तरक्रिया एवम् कार्यपत्र प्रस्तुत कार्यक्रममा विद्यालय शिक्षाबाट विभिन्न कारणले छुटेका बालबालिकाको सिकाइमा देखिएका समस्यामाथि मन्त्री श्रेष्ठले ठोस पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ। परियोजनाले सुर्खेत, सर्लाही र मकवानपुर गरी ३ वटा जिल्लामा कार्यक्रम गर्दै आएको छ । परियोजनाका तर्फबाट जीवन शर्माले मन्त्री श्रेष्ठलाई कार्यपत्र समेत पेश गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथी वागमती प्रदेसकी प्रदेस सभा सदस्य भारती पाठकले शिक्षामा देखिएका यस्ताखाले सिकाइ समस्यालाई अनुसन्धानका माध्यमबाट तथ्य प्रस्तुत गर्न सकेकोमा परियोजनालाई धन्यवाद समेत दिनुभएको छ । प्रदेस तहबाट मात्र नभई संघीय सरकारकै समेत ध्यान जानुपर्ने विषयमा आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने समेत पाठकले बताउनुभएको छ । प्रदेस तहबाट बन्नुपर्ने ऐन कानुनमा पनि शिक्षाजस्तो क्षेत्रमा आफू गम्भीर भएर लागिपर्ने वहाले बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष सुनिल मोक्तान, शिक्षक पत्रकार कुमार अधिकारी, शिक्षकहरु केशव सञ्जेल, रमेश रिजाल, उमा श्रेष्ठ, सरोकारवाला अभिभावक तथा स्थानीय बुद्धिजीवि एवम् सरोकारवालाको उपस्थिती रहेको थियो ।