आजबाट मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को लागि निःशुल्क अनलाईन फारम भर्न सकिने भएको छ । बिहिबार हेटौंडामा जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्र देव पाण्डेले पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्नेको भीडभाड बढेको र साईबरहरुले मनलग्दी पैसा लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्यमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाईन फारम भर्ने व्यवस्था मिलाईएको जानकारी दिएको छ ।

उनका अनुसार मकवानपुरका १० वटै स्थानीय तहबाट आज शुक्रबारबाटै सेवा दिने भएको छ । जिल्लाको स्थानीयतहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने बताए । उनले जिल्लामा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सकिने बताउँदै समयमै स्थानीय तहको कार्यालयमा पुगेर फारम भर्न सकिने बताए ।

अब ईन्टरनेटको पहुँच भएकाहरुले घरबाटै फारम भर्न सकिन्छ । ईन्टरनेटको पहुँच नभएकाहरुलाई अब जिल्ला प्रशासन कार्यालय सम्म फारम भर्नकै लागि आउनु नपर्ने प्रजिअ पाण्डेले बताए । असार २१ गते जिल्लाको १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंग बैठक बसेर स्थानीय तहबाटै इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउनको लागि वातावरण मिलाईएको बताए । पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिडभाड बढिरहेको छ ।