चुरियामाई नजिकै भएको दुर्घटनामा परि मृत्यु भएकाका परिवारले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा धर्ना दिएका छन् ।

दुर्घटनामा मृत्यु भएका २ मध्ये लामसुरे बस्दै आएका हेटौंडा–३ बसामाडीका अटो चालक सुजनकुमार ढकालको परिवारले प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक भारतीय नम्बर प्लेटको कन्टेनरलाई क्रेनको सहायताले हेटौंडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो ।

मृतकका आफन्तले ड्राईभरको हातमा कसरी साँचो गयो र दुर्घटनाको जवाफदेहीता प्रहरी हुनुपर्छ भनी धर्ना दिएका छन् । उनीहरुले फरार भएका चालकको खोजी गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा धर्ना दिईरहेका छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले कुनै बदनियत नभई बाटोमा कन्टेनर बिग्रिएर सडकमा सवारी साधन आउजाउ गर्न गाह्रो भएकोले सहज बनाउनका लागि बाटो खुलाउने क्रममा उक्त दुर्घटना भएको बताएका छन् ।

मृत्यु हुने अर्का मोटरसाइकल चालकको पहिचान अझै खुलेको छैन ।

दुर्घटनामा ५ जना घाइतेको हेटौंडाको चुरेहिल अस्पताल उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको एसपी सिंहले जानकारी दिए ।