विद्यार्थीहरुलाई लक्षित गरी आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ। उक्त खोप कार्यक्रम आजदेखि तीन दिनसम्म चल्नेछ। स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्ष माथिका कक्षा ११–१२ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको पवेशपत्र लिएका विद्यार्थीहरुले भेरोसेल खोपको पहिलो मात्रा लिन पाउने छन्। साथै ४० वर्ष वा सो भन्दा माथिको उमेर समूहका व्यक्तिले पनि खोप लगाउन पाउने छन्।

चर्को दबाबपछि गत साउन ३१ देखि हुने भनिएको कक्षा १२ को परीक्षा सरकारले स्थगित गर्ने निर्णय गरेको थियो। परीक्षा दिनुअघि विद्यार्थीलाई खोपको व्यवस्था गर्नपर्ने आवाज उठेपछि सरकारले विद्यार्थीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो। काठमाडौँ उपत्यकाभित्र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, थापाथलीस्थित प्रसुति गृह, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँ महानगरपालिकाका ३२ वटा वडा तथा अन्य नगरपालिकामा पालिकाले तोकिएको खोप केन्द्रमा खोप लगाउन सकिने छ।