Comments Add Comment

पहिरोले एकै परिवारका चार जनाको निधन

अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ। निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए। गत राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै निधन भएको हो।

सो घटनामा परी गम्भीर घाइते भएका घरमूली श्यामबहादुर गलानलाई उपचारार्थ काठमाडौँस्थित ट्रमा सेन्टर पुर्‍याइएको प्रहरीले जनाएको छ। घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए।उनको छाती तथा गर्धनमा गम्भीर चोट लागेको अचेत अवस्थामा उद्धार भएको र शारीरिक अवस्था गम्भीर रहेको बताइएको छ।घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किमि दक्षिणमा पर्छ। शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ। गत हिउँदमा गलानको घरमाथि सडक निर्माण भएको र वर्षासँगै सोही सडकमा बगेको भलपानीको असरले पहिरो जाँदा एकै घरका परिवारले ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर