काठमाडौं – दुई वर्षअघि निर्देशक नवीन चौहान गायक सुजन चापागाईंको गायकीबाट निकै प्रभावित बने । त्यतिबेला नवीनसामु सुजनले ‘लजाएर’ बोलको गीत गुनगुनाएका थिए । त्यही गीत सुनेर उनले सुजनलाई प्रस्ताव गरे, ‘तिनपाते’ गाउन ।

‘तिनपाते’ले करोड भन्दा बढी स्रोता दर्शकको मन जित्यो र उनीहरूको सहकार्य थप मजबुत बन्यो । त्यसैको परिणामस्वरुप नवीन र सुजनको सहकार्यमा ‘लजाएर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुजनको युट्युव च्यालनमार्फत् गीति भिडियो सार्वजनिक भएको हो । शैलेश गिरीको शब्द रहेको गीतलाई सुजनले स्वर र संगीत दिएका छन् । भिडियोमा सुजनले प्रिया लिम्बुसँग स्क्रिन सेयर समेत गरेका छन् । भिडियोमा गायक र ‘फ्यान’बीचको प्रेमसम्बन्ध दृश्यकथामा आकर्षक र पृथक शैलीमा प्रस्तुत गरिएको छ ।

सरल शब्द, रुमानी दृश्य र मनप्रिय संगीतले गीति भिडियोलाई नयाँपन दिएको छ । भिडियोमा ‘तिनपाते’बाट निकै चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको अभिनयले कथालाई रोमाञ्चक बनाएको छ । त्यसैगरी सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।

https://youtu.be/Zq1EeWw2mM4