काठमाडौं: गायक प्रेम सेनले लामो समयपछि नयाँ गीत ‘म्याङ्लुङ बजार’ सार्वजनिक गरेका छन्। गायिका सुनिता थेगिमसँगको सहकार्यमा तयार भएको यो पूर्वेली भाकाको गीतले मायाप्रेमको भावलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा गायक प्रेम सेनकै शब्द तथा संगीत रहेको छ। गीतका केही अंशहरूमा ‘तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल… भेट्न आउँला म्याङ्लुङ बजार’ जस्ता शब्दहरूले पूर्वी नेपालको सुन्दरतालाई चित्रण गरेको छ।

गीतको भिडियोमा गायक-गायिका स्वयं फिचर्ड छन्। दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन रहेको छ। गीतलाई राजु कार्कीले एरेञ्ज गरेका हुन्। यसको रेकर्डिङ ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले गरेका छन् भने मिक्सिङको काम किशोर थापाले सम्हालेका छन्।

गायक सेनले व्यक्तिगत कारण र गीतको तयारीमा लागेको समयले गर्दा लामो अन्तरालपछि गीत सार्वजनिक गरेको बताए। उनले अब नियमित रूपमा नयाँ गीत ल्याउने सोचमा रहेको पनि जानकारी दिए। पश्चिमका लोकदोहोरी गीतको बजार राम्रो भइरहेको बेला पूर्वेली भाकालाई पनि फेरि एकपटक चिनाउने प्रयास गरेको उनको भनाइ छ।

डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका सेनले शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण पनि लिएका छन्। यसअघि उनका ‘सानी’, ‘तिम्रो पाउजु’, ‘आऊ गाऔं’, ‘तिमीले लाको चौबन्दी’ जस्ता गीतहरू दर्शक-श्रोतामाझ लोकप्रिय बनेका थिए। यो नयाँ गीत ‘प्रेम सेन’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू