काठमाडौं । मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना बज्राचार्यको डेब्यु चलचित्र ‘चुरीफुरी’ यही पुस ९ गते शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ ।

लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ मार्फत सोनाले नेपाली सिनेमामा डेब्यु गरेकी हुन् । विभिन्न म्युजिक भिडियो तथा विज्ञापन खेलेपछि मोडल सोना नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । कमेडी जनराको चलचित्र ‘चुरीफुरी’बाट सोना निकै उत्साहित छिन् ।

चुरीफुरी टिम यतिबेला प्रचारप्रसारको अन्तिम चरणमा छ । यसअघि च्यारिटी शोबाट पनि राम्रो रेस्पोन्स पाएको सोनाले बताइन् । च्यारिटी शोबाट संकलित रकम विभिन्न सामाजिक कार्यमा लगाएको उनको भनाइ छ ।

करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोना आफ्नो पहिलो कामबाट धेरै आशावादी छिन् । लभिङ गर्लको भूमिकामा ठूलो पर्दामा पहिलोपटक देखिन लागेकी सोनाले आफूले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेकी छिन् ।

‘आफूले पाएको भूमिकालाई पूर्ण रूपमा न्याय गरेकी छु’, उनले भनिन्, ‘पूरा चलचित्रको कथा थाहा पाउन पौष ९ गते सिनेमाहल आउनुहोला ।’ अध्ययनका नाममा विदेशिने युवा र जग्गाको कारोबारमा ठगिएको कथालाई कमेडी शैलीमा देखाइएको उनले जानकारी दिइन् ।

चलचित्र चुरीफुरीमा सोनासँगै रबिन्द्र झा, सुबोध गौतम, राजिबजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, दीपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य मुख्य कलाकारका रुपमा रहेका छन् ।

दीपक शर्माको संगीत रहेको यस सिनेमाको गीतमा समिर आचार्य, विश्व नेपाली, बेनिसा पौडेलको स्वर रहेको छ । भिमफेदी ग्रुपको कोरियोग्राफी रहेको यस सिनेमाको छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन नवीन निरौलाले गरेका छन् ।

पास्र्व संगीत हेमराज आश्रमको रहेको छ । बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा सहनिर्माता रहेको यस सिनेमाको निर्माता ऋषिराज आचार्य र रीना ढकाल भण्डारी रहेका छन् । डिसिएन वितरक रहेको सिनेमा चुरीफुरीको डिजिटर पार्टनर हाइलाइट नेपाल रहेको छ ।