नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार रहेको बताएका छन्। पार्टी एकता र परिवर्तनविरोधी शक्तिहरू सडक प्रर्दशनमा उत्रिएको प्रसंग कोट्याउँदै प्रचण्डले यस्तो अवस्थामा आफू र अरू नेताहरूले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार हुनुपर्ने बताएका हुन्।

‘हामीले लामो संघर्ष र बलिदानबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत परिवर्तनका मुद्दा संस्थागत गर्‍यौँ। त्यसमा लाखौँलाख जनताको रगत र पसिना बगेको छ। त्यत्तिकै संख्यामा घाइते अपांग र बेपत्ता भएका छन्,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘ती परिवर्तनका मुद्दा उल्ट्याउन विभिन्न शक्ति सडक प्रदर्शनमा छन्। परिवर्तनका मुद्दा जोगाउन जिम्मेवारी छोड्नुपर्ने अवस्था आए म तयार छु। तपाईंहरु पनि आफ्नो तर्फबाट तयार हुनुहोस्।’ अध्यक्ष केपी ओलीले गत भदौ २६ गतेको निर्णय कार्यन्वयन नगर्दा पार्टीमा विवाद उत्पन्न भएको प्रचण्डले आरोप लगाए ।