हिमालय टेलिभिजन बाट प्रसारण हुने सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को अडिसन सुरु भएको छ । गायन रियालिटी शोको डिजिटल मार्फत शनिवार वाट अडिसन सुरु भएको हो । अडिसनमा नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका स्वदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् ।
१६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने अडिसनमा आफूले गीत गाएको भिडियो पठाएर सहभागिता जनाउन सकिनेछ । ‘द भ्वाइस अफ नेपाल’ को अफिसियल एप डाउनलोड गरी सहभागीहरूले फारम भरी मोबाइल मार्फत नै गीत रेकर्ड गरी पठाउनु पर्ने छ । मोबाइल एपमार्फत अडिसन दिन असमर्थ भएको खण्डमा विभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेज मार्फत पनि अडिसनमा सहभागी हुने साथै द भ्वाइस अफ नेपालको उत्पादन टिमको फोनमा समेत सम्पर्क गर्न सक्ने भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।