नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि खुमलटार र बालुवाटारमा छुटछुट्टै भेला गर्ने क्रमले तीव्रता पाएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले खुमलटारमा छुट्टै भेला गरेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् । प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयवस्तुबारे जानकारी दिन दाहालले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको एक सदस्यले बताए । “प्रधानमन्त्रीले शनिबारदेखि अब अलगअलग जाने हो भन्न थाल्नुभएछ,” ती सदस्य भने, “शनिबार दुई अध्यक्षको भेटमा पनि भन्नुभएछ । आईतबार बिहान टेलिफोनमा पनि त्यही भन्नुभएछ ।” प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । छलफल तिक्ततामा परिणत भएको प्रचण्डले ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको ती नेताको भनाइ छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्यले बताएका छन् । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा समेत खुमलटारको भेलामा भएको एक नेताले बताए । स्रोतले भन्यो, ‘ओली जसरी हुन्छ आफू सत्तामा टिकिराख्ने र शक्तिशाली बन्ने दौडमा छन्। पार्टी फुटाएर भएपनि प्रधानमन्त्री बन्ने उनको चाहनाले गर्दा पार्टी संकटमा भासियो। यो बारेपनि बैठकमा समीक्षा भएको छ।’