निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी आज असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन । यद्यपि सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्दियामा आयोजित एक कार्यक्रममा आगामी मंसिरमा चुनाव हुने बताएका थिए ।