ललितपुर – कोरोना संक्रमणले बिश्व आतंकित भइरहेको बेला नेपालपनि लकडाउनमा छ । यो बेला बेसहारा र अनाथ भोकै परिरहेका छन । यही संकटपूर्ण परिस्थितिमा सडकका बेसहारा र अनाथहरूलाई खाना खुवाउने अभियानमा जुटेका छन् उद्योगी अजेयराज सुमार्गी। ललितपुर महानगरपालिका-१२ मा विपन्‍न तथा अनाथ व्यक्तिहरूलाई उनले आहाराको व्यवस्था गरेका छन्।

सुमार्गीको सक्रियतामा अहिले पशुपतिमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र सडकमा बस्‍न बाध्य भएकाहरूलाई खानाको व्यवस्था गरिरहेका छन्। दैनिक ४ सयभन्दा बढीलाई पशुपति क्षेत्रको सुमार्गी भवनमा नि:शुल्क खाना खुवाइँदैछ।

उद्योगी सुमार्गीको सक्रियतामा ललितपुरस्थित बटुक भैरव मन्दिर प्रांगणमा खाना खुवाउने व्यवस्था मिलाइएको हो। शनिबार बटुक भैरव पुगेका उद्योगी सुमार्गीले उपत्यकाका विभिन्‍न टोलमा हरेक दिन खाना खुवाउने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए।

कोरोना भाइरसको विश्वव्यापी प्रभाव परेसँगै नेपालमा पनि यसले नराम्ररी समस्या उब्जाएको छ। सबैभन्दा धेरै असर आर्थिक रूपमा विपन्‍नहरूलाई परेको यो अवस्थामा कोही पनि भोकै बस्‍नु नपरोस् भनेर यो अभियान सुरु गरिएको सुमार्गीले बताए।

उनले उपत्यका भित्रका कुनै पनि टोल वा चोकमा २५ भन्दा धेरै व्यक्तिलाई खानाको संकट परे आफूले त्यहाँ पुगेर खुवाउने जानकारी दिए।

ुयो संकटको बेलामा एक दुईजनालाई खाना पुर्‍याउन अफ्ट्यारो अवस्था छ। यदि कहीँ कतै २५ जना माथिकालाई खाना पुर्‍याउने अभियानमा छुु, उनले भने, “यदि तपाईंका वरिपरि विपन्‍न व्यक्ति छन् भने खबर गर्नु होला। त्यस ठाउँसम्म मसहित मेरा सहयोगी साथीहरूले खाना पुर्‍याउँछौँ।”

सरकारले समन्वय गरे आफूले सडकका अनाथ व्यक्तिहरूलाई खानाको उचित व्यवस्थापनमा गति दिने पनि सुमार्गीले जानकारी दिए।ललितपुर नगरपालिका-१२ का अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल ओवालेले धार्मिक क्षेत्र ललितपुरमा अनाथ र असहाय उल्लेख्य रहेको जानकारी दिए।

उनले अहिले १२ नम्बर वडामा २ सयजना व्यक्तिहरु सडकमा भोकभोकै बस्‍नु परिरहेको बताए। महानगरपालिकाको समन्वयमा आफ्नो वडाले यसअघि दाल, चामल, बिस्कुट, दालमोठ वितरण गरेको जानकारी दिए।

तर, वडाले दिएको राहत आफ्ना लागि नगण्य मात्रामा रहेको सडकमा अलपत्रहरूले दुखेसो पोखे। हरिकला नामकी महिलाले भनिन, “हामी भोकभोकै बस्‍नुपरेको छ। मन्दिर र सडकमा देखे स्थानीयले लखेट्छन। हामी कहाँ जाने ?”

नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि मुलुकका धार्मिकस्थल पनि सुनसान छन्। अहिले धार्मिक क्षेत्रहरू पनि सुनसान छ।