भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन पटकथा लेखन सिकाउन नेपाल आउने भएका छन्। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा गर्न लागेको पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिको रुपमा रोबिन र जेफ नेपाल आउने निश्चित प्रायः भएको हो। एकेडेमीका अध्यक्ष केपी पाठकले भदौमा हुने कार्याशालाका लागि दुबै जना नेपाल आउन तयार रहेको पुष्ठी गरेका छन्।
७२ वटा बलिउड सिनेमा लेखेका रोबिन भट्टले महेश महेश भट्टका धेरैजसो फिल्मसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि फिल्म लेखेका छन्। जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन्। रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन् ।
एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा सिनेमा लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला गर्न लागेको बताए। ‘राम्रो पटकथा कुनै पनि राम्रो सिनेमाको आधार हो। वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा राखेको पाठकले बताए।
कार्यशालाको संयोजन लेखक सम्पदा मल्लले गरिरहेकी छिन्। उनले कार्यशाला बिल्कुलै सिकारुका लागिभन्दा पनि कम्तीमा एउटा छोटो फिल्म बनाएका लागि लक्षित गरिएको बताइन्। उनले कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइन् । उनका अनुसार उत्कृष्ट हुने पटकथाले १ लाख नगद पाउनेछ।
कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ। कार्यशाला भने भदौको ४ देखि १० गतेसम्म मकवानपुरको कुनै ठाउँमा हुनेछ ।