Comments Add Comment

तिहारमा बालबालिकालाई उपहार, युट्युबमा वर्णमाला सार्वजनिक

नेपाली भाषामा केटाकेटीहरूका निम्ति मौलिक र स्तरिय बालरचनाहरूको अभावलाई ध्यानमा राखेर नेपालयले बालबालिका निम्ति बाल रचनाहरू निर्माण गर्न शुरु गरेको छ ।

नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरूमै समर्पित हुनेगरि यो काम नेपालयले अघि बढाएको हो । यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले काम लाग्नेगरि बाह्रखरि, अंकगणितसँगै विविध विषय समेटिएका छन् ।

बालबालिकाको मनोभावलाई सुहाउनेगरिका बालरचनाहरू संगीतकार आभासले रचना गरेका छन् । आभासले केटाकेटीका निम्ति तयार पारेका बालगीतहरू पहिले पनि लोकप्रिय भइसकेका छन् ।

‘आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार पार्नसक्ने अनुरोध गरेको थिएँ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्; ‘नभन्दै केही महिनामै उनले वर्णमालामा आधारित गीतहरु नै तयार पारिदिए ।’

किरणका अनुसार यस्ता बालगीतहरूलाई पुस्तकाकारमा पनि पब्लिकेशन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी रहेको जानकारी गराएका छन् । आभासले केटाकेटीका निम्ति त्यस्ता शिक्षाप्रद र रमाइला गीतहरूको सेटै केही समयमा तयार पारिसक्ने जानकारी दिएपछि नेपालयले यसतर्फ काम अघि बढाउन थालेको थियो ।

आभासले विविध विषय समेटिएका झण्डै ४० वटा बालगीत तयार पारिसकेका छन् । तिनलाई क्रमशः कार्टुन चलचित्रसहित ‘नेपाली बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गरिने कुरा नेपालयले जानकारी गराएको छ ।

यसैक्रममा नेपाली चाड तिहारको सुअवसर पारेर युट्युबमार्फत् बालबालिकालाई उपहार स्वरुप वर्णमालामा आधारित गीतहरूको शृंखला सार्वजनिक गरिने भएको हो । ‘नेपाली बाल रचना’मा संकलित वर्णमालाका यी गीतलाई बालबालिकाले अब कार्टुन चित्र सहित हेर्न र सुन्न सक्नेछन् ।

आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मिना निरौला र बेनुका राईले स्वर दिएका छन् । निकट भविष्यमै ‘स्वर माला’ पनि सार्वजनिक हुने जानकारी उत्पादक संस्था नेपालयले गराएको छ । स्वर मालालाई रमाइलो बनाउने उद्देश्यले आभासले ‘अक्कलमान’ नामको चरित्र उभ्याएका छन् जसलाई उनी स्वयंले गाएका छन् ।

नेपालयले यसरी तयार भएका प्रारम्भिक सिर्जनाहरू युट्युब र सामाजिक सञ्जालहरूमा ‘नेपाली बाल रचना’को नामले उपलब्ध गराउने जानकारी ६ महिना अघि नै गराइसकेको थियो  ।

आभासले अलिक अगावै तयार पारेका यस्ता केही बालगीतहरुलाई ललितपुरको डिएभी स्कुलस्थित सभाकक्षमा आयोजित पलेँटी उत्सवका बेला प्रस्तुत पनि गरेका थिए । त्यसैगरि आफैँले संयोजन गर्दै आएको पलेँटी श्रृंखलामा पनि आभासले ती गीतको झलक सुनाउँदै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर