फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल मँगलबार जोर्डनसँग ३–० गोलले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा ३ गोल खाएको थियो । जोर्डनले पहिलो गोल ५६ अौं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।
खेलको ७८ अौं मिनेटमा अहमद अल(एर्सानले चिप प्रहारमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । खेल सकिन २ मिनेट बाँकी रहँदा बाहा फैसलले हेडरमार्फत गोल गर्दै जोर्डनको जित सुनिश्चित गरे । नेपालको छनोट यात्रामा यो तेस्रो हार हो । नेपालले ४ खेलमा १ जित र ३ हारसहित ३ अंक जोडेको छ ।