केही महिना अघि पारिवारिक व्यवस्थापनका लागि भन्दै अमेरिका पुगेका मकवानपुरको भीमफेदी गाऊँपालिका वडा नम्बर ८ का जननिर्वाचित अध्यक्ष जगतमान घिसिङ्गको राजीनामा पत्र भीमफेदी गाऊँपालिकाको कार्यालयमा उनका भतिजा मार्फत हिजो सोमबार आईपुगेको छ । राजीनामा पत्र दशैं अघि आईपुगेको भएपनि कार्यपालिका बिदा भएकाले हिजो सोमबार लिएर आईपुगेको उनका भतिजा सनतमान घिसिङ्गले बताएका छन् । वडा अध्यक्षले आफूलाई दशैं अघि नेपाल फर्किने अमेरिकाबाटै मौखिक रुपमा भनेकाले वडा सदस्य मार्फत सेवाग्राहीको काम गरिरहेको भएपनि अमेरिका स्थित नेपाली दुताबास वासिंटन डिसी, सनफ्रान्सिस्कोका प्रथम सचिव कुमार सुवेदीले प्रमाणित गरेको पत्र नै आईपुगेको छ ।
सो वडामा उपनिर्वाचनका लागि केन्द्रमा संघीय मामिला मन्त्रालयमा जानकारी पठाउने तयारी गरिएको गाऊँपालिका अध्यक्ष हिदम लामाले बताएका छन् । अध्यक्ष लामाले जननिर्वाचित वडा अध्यक्षको राजीनामा गाउँपालिका अध्यक्षले स्वीकृत गर्ने कार्यविधिमा कतै उल्लेख नगरेकाले आफूलाई समस्या परेको बताएका छन् । त्यतिमात्र होईन, कार्यविधिमा वडा अध्यक्षले ७ दिन भन्दा बढी समयको विदा लिंदा गाउँपालिकालाई जानकारी गराउनु पर्ने तर कहिले सम्म विदा लिन पाउने भन्ने कार्यविधिमा कतै उल्लेख नै नगरेकोले यस तर्फ सम्बन्धित निकायको ध्यान जानु पर्ने अध्यक्ष लामाको भनाई रहेको छ । तर आउँदो मंसिर १४ गतेको उपनिर्वाचन आउन करीब ४० दिन मात्रै छ । सामान्यतया निर्वाचन आयोगका लागि १ सय बीस दिनको समय तयारीका लाग्ने गरेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताएका छन् । तसर्थ यस वडाको उपनिर्वाचन गर्न सरकारको मन्त्री परिषद बैठकको निर्णयले मात्रै सम्भव देखिएको छ भने मन्त्री परिषदले निर्णय नगरेमा वा ढिलो गरेमा सो वडाको उपनिर्वाचन हुन प्राय असम्भव नै देखिएको छ ।