काठमाडौं – अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘मितज्यू’ तोकिएको समयभन्दा एक साता अगाडि नै प्रदर्शनमा आउने भएको छ। यसअघि जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन मितिलाई परिवर्तन गर्दै निर्माण पक्षले अब जेठ ८ गतेबाटै फिल्म देशभर रिलिज गर्ने घोषणा गरेको हो।

आइतबार फिल्मको दोस्रो पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ मितिबारे जानकारी गराएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरूको भिन्न स्वरूप झल्किन्छ। जसमा अभिनेता दयाहाङ राई घाइते अवस्थामा देखिएका छन् भने सौगात मल्ल हातमा भाले बोकेर निकै खुसी मुद्रामा प्रस्तुत भएका छन्। यस्तै, तेरिया फौजा मगर भने उदास भावमा देखिएकी छन्। पोस्टरमा शिशिर वाङ्देल, राज थापा र पृष्ठभूमिमा पहाडी सडकमा गुडिरहेको गाडी देखाइएकाले फिल्मले ग्रामीण परिवेशको मौलिक कथा समेटेको सङ्केत मिल्छ।

यस फिल्ममार्फत चर्चित डान्सर तेरिया फौजा मगरले नेपाली रजतपटमा अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। फिल्ममा दयाहाङ र सौगातका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरले लगानी गरेको यस चलचित्रमा शिशिर बिशंखेको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ। श्रीकृष्ण बम मल्लको सङ्गीत तथा प्रभात विष्टको द्वन्द्व निर्देशन रहेको यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्ने जिम्मेवारी लिएको छ।