हेटौंडा – निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुदिप तिमल्सिना (सञ्जिव) सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार हेटौंडामा सम्पन्न संघको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रोशन सापकोटा, महासचिवमा जीवन ढकाल, कोषाध्यक्षमा अमित श्रेष्ठ र सचिवमा सुवास दाहाल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा धर्मराज ढकाल, सतिश अधिकारी, काशीनाथ छ्त्कुली, राजन अधिकारी र सुरेश रिजाल रहेका छन्। नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले संस्थागत विकास र व्यवसायीहरूको हितमा प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

साधारणसभामा प्रमुख अतिथि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले वर्तमान समयमा निर्माण सामग्री व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै स्थिर सरकार आएपछि मात्र व्यवसायीले राहत पाउने विश्वास व्यक्त गरे। उनले सडक विस्तारका कारण बजार अस्तव्यस्त हुँदा व्यवसायमा थप समस्या देखिएको भन्दै यसको छिटो समाधान खोज्न आग्रह गरे।

तत्कालीन अध्यक्ष बालकृष्ण बजगाइँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मकवानपुर अधिकृत विक्रेता संघका अध्यक्ष राजेन्द्र लामिछाने, संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने लगायत विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए। हाल यस संघमा १५० भन्दा बढी निर्माण सामग्री व्यवसायीहरू आबद्ध छन्।