हेटौंडा – हेटौंडा-१० स्थित टिसीएन चौरमा जारी ‘दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव’ अन्तर्गत मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। आइतबार भएको लिगकम नकआउट खेलहरूबाट ८ वटा टिमले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्। मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मुक्तानका अनुसार सोमबारदेखि क्वाटरफाइनल चरणका खेलहरू सुरु हुनेछन्।

आइतबार भएका खेलहरूमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब, नव प्रतिभा सांस्कृतिक युवा क्लब (बज्रबाराही), मनहरी गाउँपालिका र हेटौंडा-११ को छहारी युवा समाजले आ-आफ्नो खेल जितेका छन्। मंगलेश्वरले सफल केयर क्लबलाई, नव प्रतिभाले पशुपती युवा क्लबलाई, मनहरीले मिलन युवा क्लबलाई र छहारी युवा समाजले पनि सोझो सेटमा जीत निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन्।

प्रतियोगिताको तालिका अनुसार सोमबार बिहान ११ बजेबाट क्वाटरफाइनलका खेलहरू सुरु हुनेछन्। पहिलो खेल मंगलेश्वर र मिलन युवा क्लबबीच हुनेछ भने दोस्रो खेल नव प्रतिभा र बागमती गाउँपालिकाबीच हुनेछ। त्यस्तै, तेस्रो खेलमा मनहरी गाउँपालिका र सफल केयर क्लब तथा चौथो खेलमा छहारी युवा समाज र पशुपती युवा क्लब भिड्नेछन्। मंगलबार सेमिफाइनल र फाइनल खेलहरू हुनेछन्, जसमा सेमिफाइनलदेखि ‘बेस्ट अफ फाइभ’ को आधारमा प्रतिस्पर्धा गराइनेछ।

पुरस्कारको दृष्टिकोणले विजेता टिमले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनलमा बाहिरिने दुई टिमले जनही १५ हजार रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसमा सर्वोत्कृष्ट खेलाडीले ५ हजार र अन्य उत्कृष्ट ६ विधाका खेलाडीले २-२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षता तथा जिल्ला भलिबल संघका अध्यक्ष वसन्त सिटौलाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो। यसै महोत्सव अन्तर्गत चैत ४ गतेदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता समेत सुरु हुने आयोजकले जनाएको छ।