डार्क कमेडी विधाको नेपाली चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन आइतबारदेखि पोखराको अर्मलाकोटबाट सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई आकाश बराल र साजन काफ्लेले संयुक्त रूपमा निर्देशन गर्दैछन्।

कास्कीका विभिन्न मौलिक बस्तीहरूमा ३५ दिन लगाएर खिचिने यस चलचित्रको कथा एक विकट गाउँमा आमा-बुबाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किउन्जेल शव सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने रोचक र उथलपुथलपूर्ण परिस्थितिमा आधारित छ। चलचित्रमा विजय बराल, सनिशा भट्टराई, प्रकाश घिमिरे, वसुन्धरा भुसाल र रमेश बुढाथोकी लगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।